कांग्रेसको राष्ट्रपति उम्मेदवारलाई सहयोग गर्न राप्रपा सकारात्मकः उपसभापति खड्का   

राष्ट्रपाटी न्युज

फाल्गुन २२, २०७९

काठमाडौं । नेपाली काँग्रेसबाट राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका छन् ।

सोमवार राप्रपा पार्टी कार्यालय पुगेर वरिष्ठ नेता पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनसँग भेट गरेका हुन् । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेता पौडेल संविधानको रक्षा गर्नसक्ने पात्र भएकाले राप्रपासँग भोट मागेको बताए । उनले राप्रपाले सकारात्मक जवाफ दिएको र अग्रिम शुभकामना दिएको पनि बताए ।

उनले भने, ‘२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि रामचन्द्र पौडेल संविधानको रक्षा गर्नसक्ने उपयुक्त पात्र हुनुहुन्छ त्यसकारण हामीले उहाँहरुसँग हामीलाई सहयोग गर्न भन्यौँ । उहाँहरुले अग्रिम शुभकामना दिनुभयो । उहाँहरुले २४ गते बैठक बसेर निर्णय गर्ने भन्नुभएको छ । सकारात्मक जवाफ आएको छ ।’

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु आफूलाई समर्थन गर्न आग्रह गर्दै नेताहरुसँगको भेटलाई तिब्र बनाइरहेका छन् ।


Published :फाल्गुन २२, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media