आज विश्व पानी दिवसः विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । विश्व पानी दिवस आज विविध कार्यक्रमको आयोजना गरेर मनाइँदै छ । यस वर्षको नारा ‘विश्व पानी दिवस परिर्वतनलाई तीव्रता प्रदान गरौं’ रहेको छ । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन मनाइने विश्व पानी दिवसमा विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ ।

विश्वमा देखापरेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रूपमा मनाउन थालेको हो ।

संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म विश्वका सबै जनसंख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । दिगो विकास लक्ष्यका कार्यक्रमअन्तर्गतको यो लक्ष्य हासिल गर्न नेपालले १५औं आयोजनामा पानीका उपलब्ध स्रोतको संरक्षण, सम्वद्र्धन, किफायती उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजना तय गरेको छ । यसअन्तर्गत सतहको पानी, वर्षाको आकाशे पानी, सतहमुनिको पानी तीनवटै स्रोतको उपयोग गर्ने नीति लिइएको छ ।

जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी नियकाय र विभिन्न सामाजिक संघसंस्थाले विविध कार्यक्रम आयोजना गर्दै आइरहेका छन् । पृथ्वीको ७५ प्रतिशत भाग पानीले ओगटेको भए पनि त्यसको करिब तीन प्रतिशत मात्र खास प्रयोगमा आउन सक्छ ।

सन् १९९२ मा रियो दि जेनेरियोमा भएको संयुक्त राष्ट्र संघको वातावरण र विकाससम्बन्धी सम्मेलनले पानी दिवस मनाउन सिफारिश गरेअनुसार सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले २२ मार्चलाई विश्व पानी दिवसको रूपमा घोषणा गरेपछि विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो । हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवस तथा मार्च २३ मा मनाइने मौसम दिवसकै सन्दर्भ पारेर नेपालमा पनि पानी तथा मौसम दिवस सँगसँगै मनाउने गरिन्छ ।

अहिले विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । संसारका एक अर्ब ८० करोड मानिस फोहोर पानी त्यसमा पनि दिसाको अंश मिश्रित पानी पिउन बाध्य छन् । असुरक्षित पानी र कमजोर सरसफाइका कारण हरेक वर्ष करिब आठ लाख ४२ हजार जना मानिस मर्ने गरेका विश्व स्वास्थ्य संगठनले जनाएको छ । तीव्र जनसंख्या वृद्धि भएसँगै पानीको चुनौती थपिएको छ । सन् २०५० सम्ममा विश्व जनसंख्या नौ अर्ब पुग्नेछ तर पानीको माग हालभन्दा ३० प्रतिशतले बढ्नेछ । अहिले नै करिब एक अर्ब ८० करोड मानिस मरुभूमीकरणको जोखिममा रहेको अवस्थामा आगामी दिनमा पानीको समस्या अझ जटिल बन्दै जानेछ । राजनीतिक विश्लेषकहरूले तेस्रो विश्वयुद्ध भएको अवस्थामा त्यो पानीकै लागि हुने बताएका छन् । पृथ्वीको ७५ प्रतिशत भाग पानीले ओगटेको भए पनि त्यसको करिब तीन प्रतिशत मात्र खास प्रयोगमा आउन सक्छ ।


Published :८ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media