६० प्रतिशत जनसंख्यालाई सामाजिक सुरक्षामा समेट्ने योजना छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्ने योजना रहेको बताएका छन् ।

वैदेशिक रोजगारमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको सुरुवात गर्दै प्रधानमन्त्री प्रचण्डले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्ने योजना रहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने,‘अनौपचारिक क्षेत्रका नागरिक पनि सामाजिक सुरक्षामा समेटिनेछन् । ६० प्रतिशत जनसंख्यालाई सामाजिक सुरक्षामा समेटिने योजना छ । हामीलाई विश्वास छ, करिब ४० लाखमाथि वैदेशिक रोजगारमा रहेका श्रमिक तथा व्यक्तिहरू यो योजनामा आउनुहुनेछ ।’

संविधानको सफल कार्यान्वयन गर्दै आर्थिक विकास र समृद्धि अहिलेको आवश्यकता रहेको उनले बताए । उनले भने, ‘देशका उत्पादनशिल जनशक्ति विदेशिरहेको छ । जुझारु जनशक्तिलाई देश विकासमा लगाउनुपर्ने चुनौती छ । देशको अर्थतन्त्रलाई विदेशमा श्रम गरिरहेका नेपालीहरुले योगदान पुर्‍याउनुभएको छ।’

प्रधानमन्त्री प्रचण्डले करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षामा समेट्ने सरकारको योजना रहेको बताए ।


Published :८ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media