मन्त्री बन्न लागेको कुरा हल्लामात्र होः गगन थापा

राष्ट्रपाटी न्युज

११ चैत्र २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताएका छन् ।

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३ रुपन्देहीले आज शनिवार  भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले मन्त्री बन्न लागेको कुरा हल्ला मात्र भएको बताए । ‘मन्त्री बन्न लागेको कुरामा सत्यता छैन, मेरो प्राथमिकता अहिले कांग्रेसलाई कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने मात्र रहेको छ’,थापाले भने ।

महामन्त्री थापाले आफूलाई अहिलेसम्म कसैले बोलाएर केही पद नदिएको तर लडेरै लिएको बताए । थापाले भने, ‘केही साथीहरु भ्रममा पर्नुभयो जस्तो छ, मलाई कसैले बोलाएर केही भनेको छैन । जे पाएको छु, लडेर पाएको छु। साथीहरुको माया र शुभेच्छाले अगाडि बढेको छु ।’

महामन्त्री थापाले जनताको असन्तुष्टि र छटपटीलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्ने बताए । ‘सरकारले जनतालाई राहत  महसुस गराउनुपर्छ’, उनले भने । आजभन्दा भोलीको अवस्था राम्रो हुँदै जान्छ भन्ने विश्वास दिलाउने गरी काम गर्न उनले सुझाव दिए । कांग्रेस केन्द्रीय समितिको बैठक समयमा बस्न नसकेको महामन्त्री थापाको गुनासो थियो ।

आठ लाख पार्टी सदस्य भएको र तीन सय स्थानीय तहको नेतृत्व गरिरहेको कांग्रेसलाई जरैबाट मजबुत बनाउनुपर्ने उनले जिकिर गरे । विसं २०८४ को निर्वाचनमा कांग्रेस देशका १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने र त्यसका लागि तयारी गरिरहेको महामन्त्री थापाले बताए ।


Published :११ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media