सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिइने

राष्ट्रपाटी न्युज

चैत्र १०, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

शनिबार काठमाडौंमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् ।

प्रचण्डले आइतबार साँझसम्म मन्त्रिमण्डल बाँडफाटका विषयलाई टुंग्याउने र सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी गराएका बैठकपछि माओवादी सचिव देवेन्द्र पौडेलले बताए।

प्रधानमन्त्रीले सवै दलसँग छलफल गरेका र आइतबार गठबन्धन बैठकमा मन्त्रीहरूको नाम प्रस्ताव हुने पौडेलले जानकारी दिए ।

बैठकमा संसदलाई प्रभावकारी बनाउने, संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकलाई टुङ्गाउन अन्य दलहरूसँग छलफल गर्ने निर्णय भएको उनले बताए ।

त्यस्तै बैठकमा सरकारलाई पार्टीसँग जोड्ने गरी जनसरोकारका विषयलाई सम्बोधन गर्ने र प्रदेशको सरकारहरू पनि आलोपालो अनुसार तथा बजेट, नीति तथा कार्यक्रममा संघसँग जोड्ने गरी गतिशील बनाएर अघि बढ्ने निर्णय भएको पौडेलले बताए ।


Published :चैत्र १०, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media