ओखलढुंगा रामपुरमा शहिद गुरु लुइटेल स्मृति पार्क बन्ने

राष्ट्रपाटी न्युज

१३ चैत्र २०७९

ओखलढुंगा। ओखलढुंगाको मोलुंग गाउँपालिका स्थित बरुणेश्वर रामपुरमा शहिद गुरु लुइटेलको सम्मानमा ‘ शहिद गुरु लुइटेल स्मृती पार्क ‘ निर्माण हुने भएको छ।

गुरु लुइटेल अध्ययन तथा विकास केन्द्रको अगुवाइमा निर्माण हुन लागेको पार्कको सोमबार शिलान्यास गरिएको छ। उक्त पार्कको मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम राईले एक विशेष समारोहकाबीच शिलान्यास गरेका हुन्।

पार्कको शिलान्यास गर्दै अध्यक्ष राईले शहिद गुरु लुइटेलहरुले मुलुक परिवर्तनका लागि जीवन बलिदानी दिएको इतिहासलाई सम्झँदै अहिलेको पुस्ताले सहिदका सपना साकार हुनेगरि काम गर्नुपर्ने बताएका थिए । पार्क निर्माणका लागि नेपाल सरकारले प्रदेश पर्यटन मन्त्रालय अन्तरगत जिल्ला वन कार्यालय मार्फत रकम उपलब्ध गराउने बताइएको छ ।

शहिद गुरु लुइटेल स्मृति पार्कको शिलन्यास कार्यक्रममा मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राई, वडा नम्वर २ का वडाध्यक्ष टंकबहादुर कार्की, युवा नेता गोपाल नेपालसहित प्राध्यापक, शिक्षक, समाजसेवी तथा स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।

तत्कालीन विद्रोही माओबादी पक्षले नेपाल राष्ट्रिय शिक्षक संगठन ओखलढुंगाका अध्यक्ष समेत रहेका लुइटेललाई २०६० सालमा अपहरण गरि हत्या गरेको थियो। हाल सोही स्थानमा लुइटेलको अर्धकदको शालिक छ । शालिक भएकै ठाउँमा पार्क निर्माण गर्न लागिएको हो ।

 


Published :१३ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media