काठमाडौं । सत्ता गठबन्धन दलको बैठक बिना निष्कर्ष सकिएको छ । बालुवाटारमा बिहान बसेको बैठकमा मन्त्रालयमा भागबण्डाबारे कुरा नमिलेपछि बैठक निष्कर्षबिहीन भएको हो ।
आज दिउँसो ३ बजे पुनः बैठक बस्ने गरी दलका शीर्षनेताहरू बालुवाटारबाट बाहिरिएका छन् ।बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबार एक चरणको मन्त्रिपरिषद् विस्तार हुने बताए ।
लेखकले मन्त्रालयको भागबण्डाबारे छलफल जारी रहेको र बिहीबारसम्ममा एक चरणमा मन्त्रिपरिषद् विस्तार भइसक्ने बताए । साना दलहरुले बढी मन्त्रालयहरु माग गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको छलफलमा सहभागी नेताहरुले बताएका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तीन मन्त्रालयमा दावी गरेपछि दलहरू अन्तिम निर्णयमा पुग्न नसकेको बैठकमा सहभागी एक नेताले बताए। उनले भने,’बैठकमा मन्त्रालयमा भागबण्डाबारे छलफल भयो। अझैं टुंगोमा पुग्न सकिएको छैन। बेलुका फेरि बैठक बस्ने भन्नेछ।’
मंगलबार पनि कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३–३ मन्त्रालय पाउनैपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन बनेको थियो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल,कांग्रेस सभापति शेरबहादुर देउवा,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,जसपा अध्यक्ष उपेन्द्र यादव,लोसपा अध्यक्ष महन्थ ठाकुर,जनमत अध्यक्ष सिके राउतलगायत नेता सहभागी थिए ।
यसअघि दाहाल नेतृत्वमै एमालेसहितको सरकार हुँदा पनि साझा कार्यक्रम ल्याइएको थियो। तर,गठबन्धन परिवर्तन भएसँगै उक्त कार्यक्रम खारेज गरेर नयाँ ल्याउन लागिएको हो । सत्ता गठबन्धनमा मन्त्रालयमा भाडबण्डामा कुरा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको हो।