साझा न्युनतम कार्यक्रमः शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र पूरा गर्ने गठबन्धनको प्रतिबद्धता

राष्ट्रपाटी न्युज

१५ चैत्र २०७९

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको दस दलीय गठबन्धनले सरकारको साझा न्युनतम कार्यक्रमको ड्राफ्टलाई अन्तिम रूप दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले अहिले विवादमा रहेको संक्रमणकालीन न्यायसम्बन्धी मुद्दालाई प्राथमिकताका साथ कार्यक्रममा समावेश गरेका छन् । गठबन्धनले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी रहेका काम दुई वर्षभित्र पूरा गर्ने प्रतिवद्धता लिएको छ। त्यसका लागि द्वन्द्वपीडितहरूलाई क्षतिपूर्ति, पुनःस्थापना र परिपूर्णको व्यवस्था गर्ने नीति सरकारको छ।

सरकारले शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरूसँग भएका सहमतिको कार्यान्वयन गर्ने नीतिसमेत साझा न्युनतम कार्यक्रममा समावेश गरेको छ ।

संसदमा विचाराधीन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक यथाशिघ्र पारित गरी आयोग गठन गर्ने र आयोगलाई आवश्यक स्रोत साधन र जनशक्ति उपलब्ध गराउने साझा न्युनतम कार्यक्रममा उल्लेख छ ।

त्यस्तै तत्कालीन सरकार र नेकपा (माओवादी)बीच भएको विस्तृत शान्ति सम्झौता तथा तराई/मधेस लगायतका आन्दोलनका क्रममा सरकार र आन्दोलनकारीहरूबीच भएका सहमति र सम्झौताहरूलाई तदारुकताका साथ कार्यान्वयन गर्ने, देशका विभिन्न भागहरूमा भएका आन्दोलनको क्रममा लगाइएका मुद्दाहरूको पुनरावलोकन गर्ने, झुठा मुद्दाहरू खारेज गर्ने र राजनीतिक प्रकृतिका बन्दीहरूलाई रिहाइ गर्ने र आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ अवसर र पुनर्स्थापनसम्बन्धी कार्य गर्ने सरकारले प्राथमिकतामा राखेको छ ।


Published :१५ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media