बूढानीलकण्ठ नगरपालिकामा नगर युवा संसद अभ्यास कार्यक्रम भव्य रुपमा सम्पन्न

राष्ट्रपाटी न्युज

२२ चैत्र २०७९

बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिकामा नगर युवा परिषदले नगर युवा संसद अभ्यास कार्यक्रम सव्य र भव्य रुपमा सम्पन्न गरेको छ। बागमती प्रदेश सभा सदस्य जयराम थापाले उद्घाटन गरेको नगरप्रमुख एवं नगर युवा परिषद अध्यक्ष मिठाराम अधिकारीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रम चैत्र १८ गते सुरु भई चैत्र २१ गते ४ दिन सम्म संचालन भएको थियो । उक्त कार्यक्रममा ४४ जना युवा प्रशिक्षार्थीहरु सहभागी भएका थिए ।

नमुना संसदिय अभ्यास मार्फत युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि बूढानीलकण्ठमा ४ दिने नमूना युवा संसद अभ्यास कार्यक्रम संचालन गरिएको हो ।

यस कार्यक्रममा १६ देखि २४ बर्ष उमेर समुहका विभिन्न वडाबाट ४४ जनाले सहभागिता जनाएका थिए । जसमा नमुना युवा संसद विज्ञ रञ्जन पौडल, अशोक खनाल र निराजन लामाले प्रशिक्षण दिएका थिए ।

नगर युवा परिषद कार्यकारी उपाध्यक्ष रुपेश भट्टराईका अनुसार कार्यक्रम अन्तर्गत संवैधानिक नगर सभाको ढाँचा, नगरपालिकाको प्रशासनिक सेवा तथा स्थानीय सरकार ऐनका विषयमा सहाभागिहरुलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा सहभागि बिचबाटनै नगरसभा अभ्यासको लागि नमुना नगर प्रमुख, उप-प्रमुख, वडाध्यक्ष, कार्यकारी सचिव लगायत विभिन्न समितिका संयोजकहरु नमुना निर्वाचन प्रकृयाबाट छनौट भएका थिए । जसमा नगर प्रमुखको पदमा हिमाल चौलागाई, उप-प्रमुख सकसा साह निर्वाचन प्रणालिबाट आएका थिए भने वडाध्यक्ष, कार्यकारी सचिव तथा अन्य समिति संयोजकहरु निर्विरोध चयन भएका थिए ।

अभ्यास अन्तर्गत सहभागिहरुले नगरपालिका युवा क्षेत्रका विद्यमान परिस्थितिरुका विषय उठान गर्दै त्यस्को समाधानको लागि नमुना निति तथा कार्यक्रम र विधयेक तयार गरि विभिन्न समिति विच छलफल गर्दै प्रचलित नगर सभाको पुर्ण अभ्यास मार्फत पारित गरि कार्यक्रम समापन गरिएको थियो ।

उक्त कार्यक्रमको समापन समारोहमा नगर प्रमुख मिठाराम अधिकारी, नगर प्रवक्ता नवराज भट्टराई, सुशासन समिति संयोजक शम्भु भट्टराई, सामाजिक विकास समिति संयोजक शान्ता ढकाल, वडा नं ६ अध्यक्ष रवि खड्का, वडा नं ९ अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, वडा नं ११ अध्यक्ष राजु अधिकारी, शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सिंह, नगर युवा परिषद कार्यकारी उपाध्यक्ष रुपेश भट्टराई, प्रशिक्षक रञ्जन पौडेल, निरञ्जन लामा, अशोक खनाल लगायत नगर युवा परिषदका अन्य सदस्य तथा प्रशिक्षार्थी र प्रशिक्षार्थीहरुका परिवारको उपस्थिति रहेको थियो ।


Published :२२ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media