मन्थली । रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् ।
रामेछापको सदरमुकाम मन्थलीबाट दिउँसो मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक सय मिटर तल खस्दा घटनास्थलमै मृत्यु हुनेमा मन्थली नपा–७ की ८२ वर्षीया नन्दमाया भण्डारी, सोही वडाकी ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ रहेका छन् ।
घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताए ।
स्थानीयवासीका अनुसार तीन वटा शव पाखामा देखिएको छ भने एउटा शव गाडीले थिचेको अवस्थामा रहेको छ ।
स्थानीयवासी र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाइएको छ ।
मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक यस मिटर तल झरेको थियो । दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।