काठमाडौँ महानगर र सिंहदरबारबीचको टकराव

राष्ट्रपाटी न्युज

२८ चैत्र २०७९
  • जेपी पाठक

काठमाडौं महानगरपालिका र संघीय सरकारबीचको टकराव अझै बढ्ने संकेत देखिएको छ । आवश्यक सहयोग नगरेको भन्दै महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)एकपछि अर्को गरी संघीय सरकारविरुद्ध खनिन थालेपछि टकराव अझै बढ्ने संकेत देखिन थालेको छ ।

आवश्यक सहयोग नगरेको भन्दै मेयर साहले संघीय सरकारको निरन्तर आलोचना गर्न थालेका छन्  । सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै आएका साह पछिल्लो समय संघीय सरकारविरुद्ध आक्रामकरूपमा प्रस्तुत भएका छन् ।

सिंहदरबारले जनजीविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्नै नचाहेको उनको भनाइ छ । भौतिक रूपमा बागदरबार-सिंहदरबारको दूरी धेरै नभए पनि महानगर सिंहदरबार पुग्न धेरै कसरत गर्नुपर्ने उनले टिप्पणी गरेका छन् । उनका अनुसार नौ महिनामा पटक-पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरू कार्यान्वयन गर्न मुस्किल परेको छ । उनले स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका मुद्दा अगाडि बढ्दैनन् । सुनेको नसुनै हुन्छ भने दूरदराजका स्थानीय तहहरूमा भएको नीतिगत अप्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतका कुराहरू सम्बोधनको अवस्था कस्तो होला भन्दै आक्रोश व्यक्त गरेका छन्  । सिंहदरबारले स्थानीय सरकारको अस्तित्व नै स्वीकार नगरेको उनको टिप्पणी छ ।

स्थानीय समस्याहरू स्थानीय तहमा नै समाधान हुन सकून् । संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस् भन्ने आवाज उनले उठाएका छन् । देश विकेन्द्रीकरणको उच्चतम् लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा छ तर न्याय माग्न, पासपोर्ट बनाउन, सरकारी कामकाजका लागि, उपचार र शिक्षाका लागि पनि काठमाडौं आइरहनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको स्पष्ट विचार छ ।

काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर उठाउन छोडेको छ । महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेनले फोहोर नउठाउने घोषणा गरेपछि सिंहदरबारको फोहोर उठ्न छोडेको हो । सिंहदरबारको फोहोर उठाउने जिम्मा पाएको परिवर्तन सेवा प्रालिले फोहोर उठाएको छैन । सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक पाँच टन फोहोर उठ्ने गरेको थियो । संघीय सरकारले बारम्बार प्रयास गर्दा पनि कुरा नसुनेपछि बाध्य भएर फोहोर उठाउन छोडेको मेयर साहले स्पष्ट पारेका छन् । सिंहदरबारको फोहोर नउठाउने निर्णय लहडमा अनायासै नगरिएको उनले स्पष्ट रुपमा बताए ।

काठमाडौं महानगरको मेयरमा साह निर्वाचित भएदेखि नै संघीय सरकारसँग राम्रो सम्बन्ध छैन । स्वतन्त्रबाट मेयरमा निर्वाचित भएका साह सुरुवातदेखि नै संघीय सरकारसँग रुष्ट थिए । जुन शृंखला नौ महिनादेखि जारी छ । यसका निश्चित कारण छन् । उनी निर्वाचित हुँदै गर्दा काठमाडौंमा फोहोर थुप्रिएको थियो । जसलाई व्यवस्थापन गर्न निकै सकस परेको थियो । फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग नगरेको उनको आरोप थियो । यो सुरुवात थियो । त्यसपछि महानगर र सिंहदरबारबीच निरन्तर टकराव भइरहेको छ ।

यता उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन ? भन्दै प्रश्न गरेका छन् । अझ सार्वजनिक रूपमा सामाजिक सञ्जालमार्फत त्यसो भन्न मिल्छ कि मिल्दैन ? भन्दै उनले प्रश्न गरेका छन् ।

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाडौं महानगरपालिकासँग तत्काल संवाद गर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा महानगरपालिकासँग तत्काल संवाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । महानगरपालिकाले राखेका जायज मागहरूलाई पूरा गर्नुपर्ने उनको भनाइ छ । सांसद थापाले काठमाडौं महानगरपालिका र संघीय सरकारबीचको छलफलमा काठमाडौंका जनप्रतिनिधिहरूलाई पनि सम्मिलित गराउनुपर्ने बताए ।


Published :२८ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media