काठमाडौं । बैंकले निक्षेपको ब्याजदर एकल अंकमा ल्याएका छन् । नेपाल बैंकर्स संघको बुधबार विहान बसेको बैठकले वैशख १ गतेदेखि लागु हुने गरी निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको छ ।
वैशाख १ देखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको बताइएको छ । अहिले मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत छ । बैंकहरुले १.०१ प्रतिशत विन्दुले घटाउने निर्णय गरेका हुन् ।
यस्तै बचतमा न्युनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने तथा कल निक्षेपमा बचतको तल्लो सीमाको ५०प्रतिशत हुन गरी ब्याजदर कायम गर्ने निर्णय भएको बताइएको छ । अहिले बचतमा बैंकहरुले ६ देखि ८ प्रतिशत ब्याजदर दिंदै आएका छन् ।
सबै तिरबाट एकल अंकको ब्याजदर कायम गर्नुपर्ने माग आएपछि एकल अंक हुने गरी नै ब्याजदर घटाएको बताइएको छ ।
राष्ट्र बैंकले अघिल्लो माहिनामा एउटै वर्गका बैंकले बचत वा मुद्दती निक्षेपमा दिंदै आएको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले निक्षेपको ब्याजदर घटाउन वा बढाउन पाइने व्यवस्था गरेको छ ।
यस्तै व्यक्तिगत मुद्दती निक्षेपमाभन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर २ प्रतिशत विन्दुले कम हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा आएपनि राष्ट्र बैंकले साधारण बचत र मुद्दतीमा भन्दा रेमिट्यान्स खातामा न्युनतम १ प्रतिशत ब्याजदर बढी दिनुपर्ने व्यवस्था गरेकाले रेमिट्यान्स निक्षेपमा बैंकहरुले १०.९९ प्रतिशत र रेमिट्यान्स बचत खातामा ८.४ प्रतिशत ब्याजदर दिनु पर्नेछ ।
निक्षेपसँगै कर्जाको ब्याजदर पनि केही घट्ने छ । माघदेखि चैतसम्म घटेको निक्षेपको ब्याजदरको आधारमा बेस रेट जति घट्छ सोही अनुपातमा १ वैशाखदेखि कर्जाको ब्याजदर घट्ने छ । तर, आगामी १ वैशाखदेखि निक्षेपको ब्याजदर घटे पनि यसको प्रभावअनुसार कर्जाको ब्याजदर घट्न भने साउनसम्म कुर्नुपर्ने बताइएको छ ।
राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर बीचको औसत अन्तर ४.४ प्रतिशतबाट चैतमा ४.२ प्रतिशत हुँदै असारमा ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेकाले यसलाई समायोजन गर्न पनि बैंकहरूले कर्जाको ब्याजदर घटाउनु पर्ने छ ।