गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत

राष्ट्रपाटी न्युज

बैशाख ८, २०८०

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।  सत्ता साझेदार दल माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।

एमाले नेता अधिकारी नेतृत्वको सरकारबाट चैत १० गते माओवादी बाहिरिएको थियो। संविधानमा सरकारमा सामेल दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। ख्यमन्त्री अधिकारीले आफूले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव राख्ने पत्र बिहीबार नै प्रदेश सभा सचिवालयलाई पठाएका थिए। सोही अनुसार शनिबारको प्रदेश सभाको बैठकमा कार्यसूची तयार छ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका (सभामुखसहित) ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन्। मुख्यमन्त्री अधिकारीलाई राप्रपको साथ छ । तर अर्को घटक माओवादीले मत नदिने हो भने उनले विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था छैन ।

मुख्यमन्त्री अधिकारी बहिर्गमनमा परे संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाका सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने छन् ।

पाण्डे मुख्यमन्त्री नियुक्त भए उनले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। पाण्डेसँग माओवादी केन्द्रले सत्ता साझेदारी गर्न समझदारी भइसकेको छ ।


Published :बैशाख ८, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media