
काठमाडौं । नेपाली कांग्रेसले सरकारका कमी–कमजोरीबिरुद्ध सशक्त रुपमा खवरदारी गर्ने जनाएको छ । शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारको काम कारवाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका कमी–कमजोरीबिरुद्ध सशक्त रुपमा खवरदारी गर्ने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
बैठकमा सांसदहरूलाई राष्ट्रिय मुद्दाहरुलाई उठान गर्ने, जनजीविकाका सरोकारहरूलाई प्रभावकारी रुपमा सदनमा प्रस्तुत गर्न संसदीय दल र पार्टीबीच समन्वय गर्ने बिषयमा छलफल भएको उनले बताए ।
महामन्त्री पौडेलले प्रमुख प्रतिपक्षी दलले सदनमा निरन्तर आफ्ना बिषय राख्दा पनि सरकारले नसुनेको भन्दै निरन्तर रूपमा खबरदारी गरिराख्ने समेत उल्लेख गरे । उनले बिषयगत मन्त्रालयले गरेका कामका बारेमा अध्ययन गर्न पार्टीका नेताहरुलाई जिम्मेवारी तोकिएको भन्दै सरकारले सय दिनमा १० काम समेत गर्न नसकेको धारणा राखे ।