लिला गिरी लुम्बिनीको कामचलाउ मुख्यमन्त्री

राष्ट्रपाटी न्युज

११ बैशाख २०८०

रुपन्देही । लुम्बिनी प्रदेशको काम चलाउ मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन्  । प्रदेश प्रमुख अमिक शेरचनले सोमबार गिरीलाई काम चलाउन सरकारको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्  ।

सोमबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि गिरी मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए । तर, प्रदेश प्रमुख शेरचनले अर्को व्यवस्था नहुँदासम्म गिरीलाई नै मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।

ठुलो दलको हैसियतमा फेरि लीला गिरीकै नेतृत्वमा सरकार 

प्रदेश सभाबाट विश्वासको मत नपाए पनि नेकपा एमालेले संविधानको धारा १६८ को उपधारा २ अनुसार फेरि लुम्बिनी प्रदेशमा लीला गिरीको नेतृत्वमा सरकार बनाउने तयारी थालेको छ ।

एमालेका लुम्बिनी प्रदेश प्रमुख सचेतक तुलसी चौधरीले अब धारा ३ अनुसार ठुलो दलको हैसियतमा फेरि लीला गिरीकै नेतृत्वमा सरकार बनाउने तयारी गरेको बताए ।

उनले प्रदेश प्रमुखले धारा २ अनुसार प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढाउनुपर्ने भन्दै उनले त्यसमा ठुलो दलको हैसियतमा एमालेले एक महिना सरकार चलाउन पाउने अवस्था रहेको बताए । प्रमुख सचेतक चौधरीले प्रदेश प्रमुख अर्को धारामा जान नमिल्ने जिकिर गर्दै आफूहरूले राजीनामा नदिएकाले विश्वासको मत लिँदा फेल भए पनि ठुलो दलको हैसियतमा सरकार गठन प्रक्रियामा जाने सुविधा रहेको बताए ।

एमालेले नयाँ सरकार गठन गरेर पुन एक महिनाभित्र विश्वासको मत लिन नसकेको अवस्थामा मात्रै धारा ३ जानुपर्ने जनाएको छ ।

लुम्बिनी प्रदेशमा सोमबार भएको मतदानमा मुख्यमन्त्री लीला गिरीको पक्षमा ३३ मत र विपक्षमा ५३ मत परेको थियो ।

यद्यपि, प्रदेश प्रमुख कार्यालयले अब नयाँ सरकार गठनका लागि कुन धारा अन्र्तगत आह्वान गर्ने भन्ने अहिलेसम्म केही खुलाएको छैन । प्रदेश प्रमुखको कार्यालयले अहिलेसम्म केही आधिकारिक जानकारी दिएको छैन ।

लुम्बिनी प्रदेशमा एमालेको २९, नेपाली काँग्रेसको २७, माओवादीको १०, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी पार्टी ३, लोकतान्त्रिक समाजवादी पार्टी ३ स्वतन्त्र २, जनमोर्चा १, नेकपा एकीकृत समाजवादी १ रहेका छन् ।


Published :११ बैशाख २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media