वैशाख १४ भित्र गण्डकी सरकार गठनका लागि आह्वान

राष्ट्रपाटी न्युज

बैशाख ११, २०८०

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि मंगलबार आह्वान गरेका छन्। मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख गुरुङले नयाँ सरकार गठनका लागि वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिएका छन् ।

मुख्यमन्त्री अधिकारीले वैशाख ९ गने सदनबाट विश्वासको मत नपाएपछि अधिकारी नेतृत्वको सरकार ढलेको थियो । प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । अधिकारी सरकार पनि यही धारा अनुसार गठन भएको थियो ।

प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नभएको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने कानुनी व्यवस्था छ ।

मुख्यमन्त्रीका लागि माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे दुबैको दावी छ । दुबै पार्टीका दावीका कारण सरकार गठनमा विलम्ब भएको हो ।

एमालेका खगराज अधिकारी नेतृत्वको सरकार माओवादी र राप्रपाकाको समर्थनमा बनेको थियो । पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारी चैत १० गते माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए। पुस ९ गते संसद अधिवेशनमा अधिकारीको पक्षमा २४ मत पर्दा विपक्षमा ३५ मत परेको थियो ।


Published :बैशाख ११, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media