गण्डकी प्रदेशः मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्र पाण्डेको दाबी

राष्ट्रपाटी न्युज

१४ बैशाख २०८०

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दाबी पेस गरेका छन् ।

माओवादीसमेतको समर्थन जुटाएर पाण्डेले बहुमत सांसदको हस्ताक्षरसहित बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

यसअघिका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले ९ चैतको प्रदेशसभा बैठकमा विश्वासको मत पाउन सकेका थिएनन् । चैत १० गते माओवादीले मन्त्रीसहित समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार अधिकारीले प्रदेशसभामा विश्वासको मत सम्बन्धी पेस गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्न सक्ने व्यवस्था बमोजिम अधिकारी मुख्यमन्त्री भएका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले पनि फेरि सोही उपधारा बमोजिम माओवादीसमेतको समर्थनमा मुख्यमन्त्री दाबी गरेका हुन् ।

अधिकारीले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले १४ गते ४ बजेसम्मको म्याद दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गरेका थिए ।

गण्डकीमा कांग्रेसका २७,एमालेका २२,माओवादीका ८,राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् ।


Published :१४ बैशाख २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media