राष्ट्रपति पौडेलले उपचार खर्च आफ्नै खल्तीबाट बेहोर्नुपर्छः महामन्त्री थापा

राष्ट्रपाटी न्युज

१८ बैशाख २०८०

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले बेहोर्नुपर्ने बताएका छन् ।

सोमवार नेपाल ट्रेड युनियन काँग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैँले आफ्नो उपचार खर्च व्यहोर्नुपर्ने बताएका हुन् ।

भारतबाट उपचार गरेर आईतवार स्वदेश फर्किनुभएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभइ आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने उनले बताए । उनले राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ व्यहोर्छु भनेर सार्वजनिक गर्न आग्रह समेत गरे । महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुनु नहुने बताए ।

महामन्त्री थापाले काँग्रेसले विगतमा निर्वाचनअगाडि अन्य दलसँग गरेको गठबन्धनप्रति गल्ती महशुस गर्नुपर्ने बताए । उनले आगामी दिनमा पार्टीले कुनै पनि दलसँग कहिल्यै पनि गठबन्धन गर्नु नहुने बताए ।

उनले आगामी आर्थिक वर्षको बजेट बन्दै गरेको भन्दै बजेटमा श्रमिकहरुको न्युनतम ज्याला पुनरावलोकनको माग राख्न ट्रेड युनियनकर्मीहरुलाई आग्रह गरे । त्यस्तै श्रमिक अस्पताल निर्माणको माग गर्दै आन्दोलनमा उत्रिन पनि उनले श्रमिकहरुलाई आह्वान गरे ।


Published :१८ बैशाख २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media