काठमाडौं । सत्ता गठबन्धन दलबीच आगामी वर्षको बजेट र सिद्धान्तमा एकरूपता ल्याउन आधारपत्र तयार गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा बजेट र सिद्धान्तमा एकरुपता ल्याउन सरकारले आधारपत्र गर्ने र त्यसमाथि गठबन्धनदलबीच छलफल गरेर अन्तिम रुप दिने सहमति भएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।
उनले सरकारको सिद्धान्त र नीति तथा कार्यक्रममा एकरुपता ल्याउनका लागि सरकारले आधारपत्र तयार गर्ने र सरकारमा रहेका सबै दलहरूको धारणा समावेश गरेर परिमार्जन गर्ने बताए ।
उनले आर्थिक प्रतिकुल अवस्थामा जनताका आधारभूत आवश्यकतालाई ध्यानमा राखेर बजेट निर्माण गर्ने तयारी भएको बताए ।
उनले रास्वपालाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्रीले कुरा गरिरहेको बताए ।
उनले गठबन्धन दलका नेताहरूले बाहिर जस्तो अभिव्यक्ति दिए पनि सरकारसँग भएको बहुमतमा कुनै तलमाथि हुने सम्भावना नरहेको जिकिर गरे ।