काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । मुलुकको पछिल्लो समसामयिक विषयमा उहाँहरूबीच छलफल भएको उनले बताए ।
नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च नेता जोडिएपछि यसअघिको भेटमा एमाले अध्यक्ष ओलीले निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको बताएका थिए ।
एमाले अध्यक्ष ओलीसँगको भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कसैको दबाबमा नपर्ने बताएका छन् । प्रक्रिया र कानूनअनुसार सरकार अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए ।
प्रचण्डले भने ‘प्रक्रिया, पद्दति र ऐनअनुसार सरकार दृढताका साथ अगाडि जान्छ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट गइन्छ ।’ साथै प्रचण्डले एमाले अध्यक्ष ओलीले आफ्नो नेता जोगाउन नभनेको बताए । उनले ‘नेता बचाउ भनेर प्रधानमन्त्रीसँग भन्न सक्ने कुरा भएन । म दबाबमा पर्दिनँ ।’ प्रचण्डले भने ।