काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्री प्रचण्डलाई कसले छानबिन नगर्न दबाब दियो भनेर प्रश्न गरेका छन् ।
आइतबार संसदीय दलको बैठकबाट ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’छानविन नगर्न कसले दबाब दिएको हो भन्दै प्रश्न गरेका हुन् ।
शनिबार सिंहदरबारमा एमाले अध्यक्ष केपी ओलीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा भइरहेको छानबिन कसैको दबाबमा नरोकिने अभिव्यक्ति दिएपछि ओलीले यस्तो बताएका हुन् ।
ओलीले एमालेका सांसदहरुले यस अगाडिदेखि नै नक्कली शरणार्थी प्रकरणबारे संसद बैठकमा कुरा उठाउँदा सरकारले नसुनेको बताए । उनले भने,‘म झुक्दिनँ, दबाबमा पर्दिनँ । कसले दबाब दियो ? मलाई बोलाएर भेट्ने विभिन्न विषयमा कुरा गर्ने ? म निस्किएपछि कसैको दबाबमा पर्दिनँ म, अनि फुइँ के लगाएको ? कसैको दबाबमा पर्दिनँ, म झुक्दिनँ, म पछि हट्दिनँ । म प्रचण्डजीलाई भन्न चाहन्छु पछि हट्नुस् कसले भन्यो ? झुक्नुस् कसले भन्यो, कसले दबाब दियो ? मैले उहाँलाई के कसैको बारेमा कसलाई बचाइदिनुस्, छानबिन, कारबाही नगर्नुस् भनेँ ? मैले त भनेको छु कडाई साथ छानबिन गर्नुस्, कारबाही गर्नुस्।’