काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय समितिको बैठकमा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरण, अर्थतन्त्र, पछिल्ला समसामयिक राजनीतिक परिवेशका बारेमा जानकारी गराएको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।
उनले बैठकमा अध्यक्ष ओलीले अहिलेको अर्थतन्त्र उकास्न वर्तमान गठबन्धनसँग कुनै योजना नरहेको कुरा बिफ्रिङ गरेको पनि बताए ।
उनले बैठकमा केन्द्रिय सल्लाहकार परिषद्का अध्यक्षले आफ्नो सुझाव सल्लाह पेस गरेको बताए । बैठकमा अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीभित्रको अनुशासनको स्थितिबारे, पार्टीको लेखा परिषद्का अध्यक्ष डा. पुष्प कँडेलले पार्टी आर्थिक प्रणालीबारे र केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले निर्वाचनका सम्बन्धमा बैठकलाई जानकारी गराएको पनि उनले बताए ।
उपमहासचिव गुरुङले मिसन ग्रासरुट अभियानको समीक्षाअन्तर्गत सुदूरपश्चिमका संयोजक लेखराज भट्टले, कर्णालीको सचिव योगेश भट्टराईले, कोशी प्रदेशको राजेन्द्र गौतमले रिपोर्ट प्रस्तुत गरेको बताए । अन्य प्रदेशको रिपोर्ट भने शुक्रवारको बैठकमा पेस गरिने बताए ।