काठमाडौँ । नेपाली काँग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति जनाएकी छन्। प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले फेक अडियो बनाएर आफ्नो बदनाम गर्न खोजिएको बताएकी हुन् ।
उक्त अडियोको फरेन्सिक जाँच गर्न ६ दिनअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको उनको गुनासो रहेको छ ।
उनले भनिन्, ‘मैले पहिलो पटक यो अनुभव गरे कि नेपालमा ‘फेक न्युज’ र ‘फेक मिडिया’ को पराकाष्ठा नाघेको छ, यसलाई सरकारले नियमन गर्न सुरु गरोस्,’ राणालाई प्रतिनिधिसभा बैठकमा बोल्दै भनिन, ‘र, मेरो नाममा बनाईएको फेक अडियोका बारेमा सत्यतथ्य बाहिर ल्याओंस ।’
‘फेक अडियो मेरो मात्र होइन, अरूको पनि बनेको छ, नाम मेरो मात्र उच्चारण किन भइरहेको छ रु साँच्चै भन्ने हो यो क्यारेक्ट असासिनेसन (चरित्र हत्या)होइन, दिस इज रेप अफ माइ क्यारेक्टर (यो मेरो चरित्रको बलात्कार) हो’, उनले भनिन्, ‘वुमनलाई पोलिटिक्समा आउँदा सबै कुरा बेहोर्न सक्नुपर्छ, म बेहोरिरहेको छु। यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस् ।’