रेशम चौधरी जेलमुक्त नहुने सर्वोच्चको फैसला

राष्ट्रपाटी न्युज

जेष्ठ १, २०८०

काठमाडौं । टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय खेपिरहेका रेशम चौधरी जेलमुक्त नहुने भएका छन् । आज सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतले सुनाएको सजाय सदर गरेको छ ।

उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो ।

चौधरीमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज बहस भएको थियो । जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्चमा पुनरावेदन गरेका थिए । त्यसमा आज फैसला सुनाउँदै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई सफाइ दिन इन्कार गरेको हो ।

७ भदौ २०७२ मा कैलालीको टीकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालक सहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

उच्च अदालतको फैसला अनुसार हाल कारागार कार्यालय डिल्लीबजारमा जेल सजाय भुक्तान गरिरहेका चौधरीकै पहलमा नागरिक उन्मुक्ति पार्टीसमेत गठन गरिएको छ । रेशम चौधरी पत्नी रञ्जिता श्रेष्ठ चौधरी उक्त पार्टीको अध्यक्ष छिन् ।


Published :जेष्ठ १, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media