काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै पार्टीको नेतृत्वमा देशमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित हुने दाबी गरेका छन् ।
बिहीबार वसन्तपुरमा आयोजित भ्रष्टाचारविरुद्धको सभालाई सम्बोधन गर्दै उनले राप्रपाको नेतृत्वमा नै हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापित गर्ने बताए । यसका लागि कुनै विदेशीको आशिर्वाद र पैसा नलिने उनको भनाइ छ ।
कांग्रेस, एमाले र माओवादीबीच ठूला–ठूला भ्रष्टाचारमा दलीय सहमति देखिएकाले भ्रष्टाचारको मुद्दा सार्वजनिक भए पनि टुंगोमा नपुगेको उनको भनाइ छ ।
उनले भने,‘पुल कमसल बनाएर खाने मात्रै नभएर आफ्नै जनता बेचेर खान पनि नेपालका ठूला दलको सर्वदलिय सहमति देखिएको छ । यो भन्दा निकृष्ट भ्रष्टाचार के हुनसक्छ । भ्रष्टाचारको पनि तल्लो तहको भ्रष्टाचार यो भन्दा अरु के हुनसक्छ । आफ्नो जनता बेचेर खाने कस्तो कल्पना होला ? यो जस्तो लजास्पद र दुःखदायी कुरा अरु केही पनि हुन सक्दैन । विश्व जगतमा नेपालको बद्नाम भएको छ । नेपालको शिर झुक्ने काम भएको छ । यो काण्ड पनि नेपाल प्रहरीको जोडबलमा विदेशीहरुको चासोमा अगाडि बढेको छ । यो पनि अनुसन्धान पूर्ण नभईकन फाइल अदालतमा जाने दिशामा छ। यो भ्रष्टाचार अर्ब खर्बको भ्रष्टाचार भयो भन्ने मात्र होइन यो राज्यद्रोह र राज्य बिरुद्धको अपराध हो । त्यस कारण यो अपराधमा कुनैपनि मानिसहरुले उन्मुक्ति पाउनु हुँदैन । कसैले पनि छुट पाउँनु हुँदैन । यसमा आकर्षित हुने सबै प्रकारका मुद्दाहरु चल्नुपर्छ । यो राज्य बिरुद्धको अपराध हो । यो ठगी र संगठित अपराध हो । सरकारी दस्तखत कृत्य सम्बन्धिको अपराध पनि हो । सबै प्रकारका मुद्दाहरु चलाउनु पर्छ । प्रहरीले खुट्टा नहल्लाओस् । प्रहरीले अभियोग पत्र बुझाउने बेला भएको छ । छानविनमा आउनुपर्ने मानिसहरुको नाम नछुटोस् भन्नको लागि दबाबको लागि सभाको आयोजना गरिएको हो।’
ठूला भ्रष्टाचारका काण्डहरूमा ठूला दलका नेताहरूको संलग्नता देखिएकै कारण टुंगो लाग्न नसकेको बताएका उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा विदेशको चासोका कारण अनुसन्धान भएको बताए । तर, यसको पनि अनुसन्धान नै नसकी फाइल बुझाउने तयारी भइरहेको लिङ्देनको आशंका छन् ।
उनले भ्रष्टाचार र हिंसाको राजनीतिले ढिलो चाँडो दण्डित हुनुपर्ने बताए ।