धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनबीच भागबण्डा मिलेको छ। भागबण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र २,नेपाली कांग्रेस एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए ।
तर, नागरिक उन्मुक्ति पार्टीले भने यसबारे केही खुलाएको छैन ।
योसँगै मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन् । मुख्यमन्त्री शाहले पत्रकार सम्मेलन गरी आजै प्रदेश सरकार विस्तार हुने जानकारी दिएका छन् ।
नेता भट्टका अनुसार भागबण्डा मिलेसँगै माओवादी केन्द्रले सरकारमा पठाउने प्रदेशसभा सदस्यको टुंगो लगाएको छ। माओवादीबाट झपट साउद र रमेश धामी मन्त्री बन्दैछन् । गीतादेवी माललाई राज्यमन्त्रीका लागि सिफारिस गरेको छ ।
यसअघि माओवादीबाट ओवविक्रम भाट,अक्कल रावल र लक्ष्मी विक सरकारमा पठाउने सहमति भएको थियो। तर,पूर्वसहमतिअनुसार सरकारमा सहभागी हुने सदस्यको नाम सिफारिस नभएको भन्दै माओवादीभित्र केही नेताहरूले असन्तुष्टि जनाएका छन् । नवनियु्क्त मन्त्रीहरूको शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको जनाइएको छ ।