१५ हजारको उपस्थितिमा ऐतिहासिक बन्यो बूढानीलकण्ठ वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकामा वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला ऐतिहासिक रुपमा सम्पन्न भएको छ।

नगरपालिकामा सुचिकृत भएका र नभएका दक्ष तथा बेरोजगार व्यक्तिहरुलाई रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराउने र सीप नभएकालाई आवश्यक तालिम तथा परामर्श प्रदान गर्ने, वृत्ति मार्गनिर्देशन गर्ने उद्देश्यका साथ सुरु भएको २ दिने मेला जेष्ठ ६ र ७ गते संचालन गरिएको हो ।
बूढानीलकण्ठ नगरपालिकाको आयोजना तथा स्विजरल्यण्ड सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोग एवं समन्वयमा भएको २ दिने मेलामा १५ हजार भन्दा धेरै जनाले भ्रमण अवलोकन गरेको बताईएको छ ।

मेलामा उपस्थित विभिन्न रोजगारदाता र तालिम प्रदायक संस्था तथा कम्पनीहरुले ४५ जनालाई रोजगारीको अवसर प्रदान गरेका थिए । तिमध्य बायोडाटा र अन्तरवार्ताको आधारमा २१ जना रोजगारीमा आवद्द भएको विवरण सार्वजनिक गरिएको छ ।

यस्तै मेलामा उपस्थित विभिन्न रोजगारदाता र तालिम प्रदायक स्टलहरुको भ्रमणबाट १३१० जनाले तालिमका लागि स्वईच्छा फारम भरेका छन् भने ७३० जनाले रोजगारीका लागी आवेदन दिएका छन् ।

जेष्ठ ६ गते बूढानिलकन्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारिले उद्घाटन गरेको उक्त मेलाको नगर उपप्रमुख अनिता लामाले एक विशेष समारोह विच समापन गरेकी थिइन् ।

सामाजिक विकास समितिकी अध्यक्ष शान्ता ढकाल पुडासैनीले मेलालाई सभ्य र भव्यरुपमा सम्पन्न गराउन संलग्न सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै नगरपालिकाको भौतिक पुर्वाधार विकास साथ साथै नगर शिक्षा, मानविय विकास र रोजगारीको हकमा विशेष प्राथमिकतामा राखी सामाजिक विकासलाई समानान्तर रुपमा लैजाने प्रतिवद्दता व्यक्त गरेकी थिइन् ।

मेलामा ५० भन्दा बढि रोजगार प्रदायक र सिपमुलक तालिम तथा परामर्श दिने संघ संस्थाहरुले स्टल राखेका थिए । जसमध्य महिला उद्यमी तथा व्यवसायीहरुको ६ वटा स्टल रहेका थिए भने शैक्षिक संस्थाको ५ वटा, तालिम तथा रोजगार प्रदान गर्ने संस्थाहरुको ८ वटा, बैंकको १ वटा, होटल तथा पर्यटनको २ वटा, उद्योग तथा व्यवसीहरुको १० वटा लगायत नगर युवा परिषद, स्काउट र मौलिक खानेकुराका फुड स्टलहरु राखिएका थिए । सम्पुर्ण स्टलहरुको व्यवस्थापन निःशुल्क गरिएको थियो र मेलामा प्रवेश निः शुल्क थियो ।

मेला अवलोकन गर्न आएका विद्यार्थीहरुलाई नगरपालिकाको सभाहलमा ‘मेरो वृति मेरो भविष्य’ सम्बन्धीत विषय विज्ञहरुले सामुहिक परामर्श दिएका थिए ।

सोहि सामुहिक परामर्शको क्रममा ‘गरिखानेको कथा’ शिर्षकमा नगरपालिकामा रहेका सफल उद्यमी, बैंकर, पर्यटन व्यवसायी, कलाकार लगायत अन्य क्षेत्रका अब्बल व्यक्तित्वहरु द्वारा सभासत्र संचालन भएको थियो।

कार्यक्रम समापनको अवसरमा नगर उपप्रमुख अनिता लामाद्वारा स्टल संचालक, मेला संचालन तथा व्यवस्थापन समिति सदस्य लगायत ‘मेरो भविष्य’ र ‘गरि खाने कथा’ परामर्श सत्रका अतिथि वक्ता तथा संचालकहरुलाई कदर पत्र हस्तान्तरण गरिएको थियो ।


Published :८ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media