सरकारले विदेशीसँग एउटा र संसदमा अर्कै कुरा गरेको भन्दै ओलीको असन्तुष्टि

राष्ट्रपाटी न्युज

जेष्ठ ८, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले अहिलेको सरकारको कुरा गरेर आफूले समय खर्च गर्न नचाहेको पनि बताए । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले जनसंगठनहरुको पदाधिकारी भेलामा बोल्दै उनले सरकारले विदेशीसँग एउटा कुरा र संसदमा अर्कै कुरा गर्ने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

अध्यक्ष ओलीले मुलुकको आर्थिक अवस्था क्षतविक्षत अवस्थामा पुगेको र राजनीति अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सतर्क भएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । पार्लियामेन्टमा पोशाक लगाएर आऊ भन्दा त्यसको विरोध र अवज्ञा गर्नुलाई बहादुरी ठान्ने अवस्था आउनु राम्रो नभएको ओलीको भनाई थियो ।

उनले भने, ‘अहिलेको सरकारको कुरा गरेर म समय खर्च गर्न चाहन्न । विदेशीहरुसँग अस्ती भन्दा एउटा कुरा गरेको छ । पार्लियामेन्टमा राम्रो छ भनिएको छ । अव बजेट सरकारले कसरी ल्याउछ ? अनौठो स्थिति छ । बजेट कसरी ल्याउँछ ? बजेट बनाउन गाह्रो छ । किनभने सरकार चलाउने खर्च सरकारसँग छैन । बजेट भनेको वार्षिक आयव्यय । अहिले राष्ट्रिय राजनीति समग्रतामा भन्ने हो भने नेपाली समाज अप्ठयारो स्थितिबाट गुज्रिराखेको छ।’

अध्यक्ष ओलीले हुँडारको बथानले जसरी आक्रमण गर्दा पनि पार्टीलाई जोगाएर अघि बढाउन सकिएको दावी समेत गरे । पार्टी चल्न नदिने, पार्टीमा गति आउन नदिने, पार्टी नीतिप्रति, पार्टी नेतृत्वप्रति अनास्था जगाउने, निष्ठा ध्वस्त पार्ने, आस्था भंग गरिदिने, अन्तरध्वंस मच्चाउने नराम्रा घटना विगत २ वर्षमा भएको उल्लेख गर्दै उनले अहिले पार्टीलाई सशक्त ढंगले पुनर्जिवित गर्न सकिएको बताए ।


Published :जेष्ठ ८, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media