काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले सांसद बनाउँदा आफूसँग पार्टीका प्रवक्ता डा. मुकुल ढकाल र उपसभापति डीपी अर्यालले झन्डै ३ करोड रुपैयाँ लिएको आरोप लगाएका छन् ।
प्रवक्ता ढकालले सामाजिक सञ्जालमार्फत आफूहरुको मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर रकम लिएको आरोप लगाइएको बताउँदै पैसा मागेको पुष्टि भए जस्तोसुकै सजाय भोग्न तयार हुने बताएका छन् । उक्त आरोपबाट आपूहरुले मानहानि भएको महसुस गरेकाले श्रेष्ठका विरुद्ध मानहानीको मुद्दा हाल्ने तयारी गरेको बताएका छन् ।
प्रवक्ता ढकालले लेखेका छन् – ‘केही सञ्चारमाध्यममा मैले र पार्टी उपसभापति डीपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ। यसलाई कसैले पुष्टि गर्छ भने हामी जस्तोसुकै सजाय भोग्न तयार छौँ। यसबाट हामीले हाम्रो मानहानि भएको महसुस गरेको हुँदा अदालतमा मानहानिको मुद्दा दर्ता गर्दै छौँ।’
कालिकोटस्थित रास्कोट अस्पतालका निर्देशक समेत रहेका डा. ढकालले आफूलाई आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गरी मुद्दा दर्ता गर्ने र अदालतले क्षतिपूर्ति दिलाए, त्यो रकम रास्कोट अस्पताललाई सहयोगार्थ दिने पनि उल्लेख गरेका छन् ।
मन्त्री बन्नका लागि पार्टीको ‘कोरटिम’ले तीन करोड मागेको र सो रकम सहयोग गर्न आग्रह गर्दै ढाकाकुमारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि पार्टीले उनलाई निलम्बन गरेको थियो । पार्टीले श्रेष्ठलाई निलम्वन गरेर सांसदबाट पनि हटायो । तर कोरटिमबारे खोजीनीति गरेको छैन ।
त्यस्तै उपाध्यक्ष अर्यालले पनि फेसवुक मार्फत मनगढन्ते खबर खारेज गर्दै त्यसबारे खण्डन गर्न स्वयम् श्रेष्ठलाई आग्रह गरेका छन् भने खबरको स्रोतको पुनः परीक्षणा गरी गल्ती सच्याउन खबर प्रकाशकलाई अनुरोध गरेका छन् । गल्ती नसच्याए कानुनी उपचार खोज्ने चेतावनी दिँदै उनले सो खबरबाट भ्रममा नपर्न सम्पूर्ण पार्टी सदस्यहरू एव शुभेच्छुकहरूलाई अनुरोध गरेका छन् ।
उनले लेखेका छन् “केही सञ्चार माध्यममा पूर्व सांसद ढाकाकुमार श्रेष्ठलाई उद्धृत गर्दै निजलाई समानुपातिक सांसद बनाउन म सहित हाम्रा महामन्त्री मुकुल ढकालले पैसा लिएको खबर प्रकाशित भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सो मनगढन्ते खबर खारेज गर्दै त्यसबारे खण्डन गर्न स्वयम् श्रेष्ठलाई आग्रह गर्दै खबरको स्रोतको पुनः परीक्षण गरी गल्ती सच्याउन सो खबर प्रकाशकलाई अनुरोध गर्दछु। यसो नभएमा अरूको चरित्र हत्या गर्ने गरी कपोलकल्पित, मनगढन्ते र भ्रामक समाचार प्रकाशन गर्ने प्रकाशक विरुद्ध उचित कानुनी उपचार समेत खोजिने कुरामा सचेत समेत गराउन चाहन्छु । साथै, सो खबरबाट भ्रममा नपर्न सम्पूर्ण पार्टी सदस्यहरू एव हाम्रा शुभेच्छुक हरूलाई अनुरोध गर्दछु ।”