कमीकमजोरीलाई सुधार गर्दै मुलुकका उपलब्धीहरूलाई संस्थागत गर्नुपर्छः मन्त्री शर्मा

राष्ट्रपाटी न्युज

११ जेष्ठ २०८०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शासकीय व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्दै मुलुकको उपलब्धीहरूलाई संस्थागत गर्नुपर्ने बताएकी छन् ।  गणतन्त्र दिवस, २०८० का अवसरमा राष्ट्रिय समाचार समितिले भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री शर्माले गणतन्त्रमा केही कमीकमजोरी भए पनि पछाडि फर्किन नसकिने बताइन् ।

उनले गणतन्त्रमा देखिएको समस्या समाधान हुँदै जाने भएकाले गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने जिकिर गरिन्। मन्त्री शर्माले गणतन्त्र दिवस मनाइरहदा २००७ साल यता भएका त्याग, बलिदान र आन्दोलन लगायतका संघर्षलाई भुल्न नहुने धारणा राखिन्।

उनले भनिन,’अब पछाडि फर्किंने कुरा हुन सक्दैन, गणतन्त्र आएपछि भ्रष्टाचारलगायत विभिन्न विकृति आएको छ,गणतन्त्रभन्दा हिजोकै ठीक भन्ने विचार पनि आउनसक्छ,तर विषय त्यस्तो होइन, गणतन्त्रको विकल्प गणतन्त्रभित्रै सम्भव छ,’उनले भनिन्।

वर्तमान शासकीय व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्दै मुख्य उपलब्धिलाई संस्थागत गर्नुको विकल्प नहुने मन्त्री शर्माको भनाइ छ । उनले भनिन्, ‘गणतन्त्र दिवस मनाउने अवस्थामा हामी कसरी आइपुग्यौँ ?, २००७ सालदेखि यहाँसम्म आइपुग्दा कस्ता–कस्ता आन्दोलन भए,के–कति त्याग, बलिदान भए यी सबै विभिन्न खालका संघर्षलाई पनि हामीले भुल्नु हुँदैन ।’

गणतन्त्र सजिलै प्राप्त नभएको भन्दै उनले गणतन्त्र प्राप्तिअघि अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रता नभएको अवस्था सम्झिँदै अग्रजहरुले गणतन्त्रका निम्ति गरेको कठिन सङ्र्घष बिर्सिन नहुनेमा जोड दिइन्।

गणतन्त्र प्राप्तिका लागि आमनागरिकका सपना र अपेक्षा,गणतन्त्रपछि सरकार सञ्चालन गर्ने क्रममा निर्माण गरेको भूमिका र ती भूमिकामा भएका कमीकमजोरीलाई लिएर र त्यसमाथि हुने गरेका गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

गणतन्त्रमा भएका कमीकमजोरीलाई आधार बनाएर अभिव्यक्ति स्वतन्त्रता,राजनीतिक स्वतन्त्रतासँग जोडिएको गणतान्त्रिक व्यवस्थामाथि चारैतिरबाट प्रहार गर्ने कोसिस भइरहेको टिप्पणी गरिन् ।


Published :११ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media