ओलीविरुद्धको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने तीन दलको सहमति

राष्ट्रपाटी न्युज

जेष्ठ १२, २०८०

काठमाडौं । प्रमुख तीन दलहरुबीच पशुपतिनाथको जलहरीमा सत्तापक्षका सांसद लेखनाथ दाहालले बोलेको जलहरी प्रकरणको विषयलाई संसदको रेकर्डबाट हटाउने सहमति जुटेको छ ।

शनिवार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरुबीचको बैठकमा यो सहमति भएको हो । बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीमाथि पशुपतिनाथको जलहरी प्रकरणमा भ्रष्टाचार गरेको आरोप लगाएका थिए । संसदभित्र प्रमुख प्रतिपक्ष दलका नेतामाथि तथ्यहीन आरोप लगाएको भन्दै नेकपा एमालेले शुक्रवारको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो । सोही विषयलाई टुंग्याइ सदन सञ्चालन गर्न आज शीर्ष तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुबीच छलफल भएको हो ।

भेटमा सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गरी जलहरी निर्माणको प्रक्रियामा सुनको भनेर पित्तलको हाल्ने काम भयो भन्ने निराधार आरोपको संसदको रेकर्डबाट हटाउने र आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीमाथिको आरोप निराधार रहेको कुरा सम्बोधनका क्रममा उल्लेख गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । उनले जलहरी प्रकरणमा ओलीको संलग्नता नरहेको र तथ्यहीन आरोप रहेको कुरा प्रधानमन्त्रीले सम्बोधना गर्नेमा सबै तीन दल सहमत भएको बताए ।

उनले भने, ‘सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गरी जुन जलहरी निर्माणको प्रक्रियामा सुनको भनेर पित्तलको हाल्ने काम भयो भनेर आरोप लगाउनुभयो, त्यस विषयमा नै छलफल केन्द्रित भयो, सबै नेताबीचमा पशुपति क्षेत्र विकास कोषले निर्माणको प्रक्रिया अघि बढाउने हो, त्यो काम पशुपति क्षेत्र विकास कोषको हो । सरकारले बजेट छुट्याउने काम गर्ने हो, यसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्युको संलग्नता छैन र हुनसक्ने काम पनि होइन, यो तथ्यहीन र आधारहीन कुरा संसदमा यसरी प्रश्तुत गर्ने कुराले जनतामा भ्रम सिर्जना हुन्छ, त्यो गलत भएको हो, त्यसमा हामीले गलत नै भन्नुपर्छ यसमा सत्यता छैन भन्ने हिसावले प्रधानमन्त्रीज्युले संसदमा सम्बोधन गर्ने र भविष्यमा यस्ता तथ्य र आधारहीन कुरा माननियज्युहरुले अभिव्यक्त गर्न नपाउने भन्ने कुरामा छलफल भएको छ, प्रधानमन्त्रीज्युले त्यो विषय सदनमा राख्नुहुन्छ । भिडियो रेकर्डबाट हट्छ, जलहरीको बारेमा आएको कुरा तथ्यहीन भएकाले रेकर्डबाट हट्ने सहमति भएको छ भने दुई अर्बको कुरा पनि निराधार भएकाले त्यो विषय पनि रेकर्डबाट हट्नेछ । हामीप्रति निराधार लागेको आरोपको खण्डन गर्न चाहन्छौँ ।’

सचेतक गिरीले सत्ता पक्षका सांसद दाहालले स्वास्थ्य उपकरणमा दुई अर्बको भ्रष्टाचारको कुरा पनि संसदमा अभिव्यक्त गरेको भन्दै सो विषय पनि आधारहीन भएकाले संसदको रेकर्डबाट हटाउने सहमति भएको बताए । उनले भ्रष्टाचारका जति पनि मुद्दाहरुमा नेकपा एमाले छानबिन गर्न तयार रहेको बताए । संसदको जेठ ९ गते बसेको प्रतिनिधि सभाको बैठकमा सांसद लेखनाथ दाहालले केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाइ भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।


Published :जेष्ठ १२, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media