कांग्रेस आलोचनाबाट नडराउने सभापति देउवाको तर्क

राष्ट्रपाटी न्युज

जेष्ठ १२, २०८०

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन्  ।

उचित आलोचनाले काम गर्न झन उत्साह बढाउने तथा केही समस्या भए करेक्शन गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उनको तर्क थियो ।

नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणको काममा एकजुट भएर लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याए । प्रजातन्त्रको खिलापमा एकथरी लागि परेको उल्लेख गर्दै उनले त्यसको सुदृढीकरणमा सबै राजनीतिक दलहरु लाग्नुपर्ने बेला आएको बताए । सभापति देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने भएकाले त्यो कुरालाई सबैले बुझेर अघि बढ्नुपर्ने बताए ।

सो अवसरमा सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणमा योगदान पु-याएको भन्दै नेपाल प्रेस युनियनको पनि प्रशंसा गरे ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाका लागि अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यक्त औंल्याउँदै त्यसमा साथ दिन सबै सञ्चार संवद्ध संघ, संगठनहरुलाई आह्वान गरे । उनले ठूलो लगानीका सञ्चार गृहहरुले समेत श्रमजीवि पत्रकारहरुलाई अन्य विकल्प खोज्न दबाब दिएको उल्लेख गर्दै त्यसको बिरुद्ध डटेर मुकाविला गर्नुपर्ने बताए ।


Published :जेष्ठ १२, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media