काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरुलाई समयमा नै नागरिक समक्ष पुर्याउन नसकिएको बताएकी छन् ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले संविधानमा व्यवस्था गरेका कुराहरु लक्षित समुदायले थाहा पाउनै नसक्दा विभिन्न समस्या सिर्जना भइरहेको उल्लेख गरिन् । उनले कानूनले १८ वर्ष भन्दा कम उमेर समूहका महिलामाथि शारीरिक सम्बन्ध राख्नुलाई बलात्कार हुने कुरा उल्लेख गरे पनि कानूनको बारेमा लक्षित समुदायसम्म बुझाउन नसक्दा कतिपय मानिसहरु बलात्कारको मुद्दामा परिरहेको बताइन् ।
उनले कानून लक्षित समुदायमा समयमा नै पुर्याउन नसकेका कारण १८ वर्षमुनिको महिलामाथि शारीरिक सम्बन्ध राखी बलात्कारको मुद्दामा पर्नेहरुको संख्या बढी रहेको बताइन् । उनले पैतृक सम्पतीको समानताको बारेमा पनि लक्षित समुदायमा सूचना पुर्याउन नसकिएको बताइन् । मन्त्री शर्माले गणतन्त्र दिवस कर्मकाण्डी तरिकाले मनाउन नहुने बताइन् ।
मन्त्री शर्माले गणतन्त्रका उपलब्धिहरु उल्ट्याउने प्रयास भइरहेको भन्दै उपलब्धीको समीक्षा गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गरिन् । उनले राजनीतिक दलहरुले आफूले गरेका गल्तीको समीक्षा गरी सच्याएर जान जरुरी रहेको बताइन् । उनले सञ्चारमाध्यमहरुमा आफ्ना समाचार सामग्री उत्कृष्ट बनाउने कुरामा प्रतिष्पर्धा हुनुपर्ने बताइन् ।