काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गर्नुभएको छ ।
मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले १९ जनाको कैद सजाय मिनाहा गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयले आज आइतबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०२/१२ र २०८०/०२/१४ का बैठकका सिफारिस अनुसार टोप बहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ।’
राष्ट्रपति कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषदले सिफारिस गरेबमोजिम सबैलाई आममाफी दिइएको छ । राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘मन्त्रिपरिषदले सिफारिस गरेका सबैलाई आममाफी दिइएको हो । रेशम चौधरीको नाम पनि त्यही सूचीमा छ।’