विराटनगर । कोसी प्रदेशमा आन्दोलनरत पहिचान पक्षधरको आन्दोलनलाई शान्तिपूर्ण बनाउने सर्वपक्षीय सहमति भएको छ ।
कोसी प्रदेश नामकरणको विरोधमा भइरहेको आन्दोलनलाई लिएर सुरक्षा अधिकारी, आन्दोलनरत पक्षका प्रतिनिधि एवं सरोकारवालाबीच जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार बैठक एवं छलफल भएको थियो ।
प्रदेशसभाको दुई तिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाममा कोसी राखेपछि त्यसको विरोध गर्दै पहिचान पक्षधर आन्दोलित बनेका थिए ।
कोसी नाम खारेज गरी ऐतिहासिक पहिचानका आधारमा प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै पहिचान पक्षधर आन्दोलनमा छन् ।
आन्दोलनका क्रममा आगजनी, तोडफोड, आवागमन अवरुद्ध, कार्यालय सञ्चालन अवरुद्धलगायतका गतिविधि भइरहेका छन् । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिलगायतका असहमत पक्षबाट विरोधका कार्यक्रम भइरहेकोमा अब उप्रान्त शान्ति सुव्यवस्थामा असर पर्ने कुनै पनि कामहरु नगर्ने सर्वपक्षीय सहमति बैठकमा भएको हो ।
सहमतिपछि प्रहरी नियन्त्रणमा रहेका पहिचान पक्षधर २६ जना छुटेका छन् ।