कोशी नाममा पुनर्विचार गर्न कांग्रेसका १४ जिल्ला सभापतिको माग, सरकारबाट बाहिरियो जसपा

राष्ट्रपाटी न्युज

जेष्ठ १६, २०८०

काठमाडौँ । कोशी नामका बिषयमा पुनर्विचार गर्न जिल्ला सभापतिहरुले माग गरेका छन् । नेपाली कांग्रेसका कोशी प्रदेशका१४ वटै जिल्लाका सभापतिहरूले विज्ञप्ति निकाल्दै नाममा पुनर्विचार गर्न माग गरेका हुन् ।

जिल्ला सभापतिहरुले संयुक्तरुपमा बिज्ञप्ती निकाल्दै काेशी नाममा पुनर्विचार गर्न माग गरेका छन् । ‘नेपाली कांग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात् गर्दै गल्ती कमजोरीहरूलाई सच्याउने साहस गर्न सक्छ । यही तथ्यलाई ध्यानमा राखी हामी कोशी नाम सम्बन्धमा पुनर्विचार गर्न पार्टी नेतृत्व तथा प्रदेश सभासँग विशेष आग्रह गर्दछौँ ।’ सभापतिहरुले निकालेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा प्रदेश नम्बर १ को नाम कोशी राखिएकोमा गम्भीर आपत्ति जनाउँदै प्रदेशका जनता आन्दोलित भएकोप्रति गम्भीर ध्यानाकर्षणभएको समेत उल्लेख गरिएको छ । आन्दोलनमा संयमित हुन हामी आन्दोलनकारीहरूलाई विशेष आग्रह गर्दछौँ भन्दै बिज्ञप्तीमा जिम्मेवार बनेर मानवअधिकारको सम्मान गर्न तथाविरोध गर्न पाउने मौलिक हकको सम्मान गर्न पनि माग माग गरिएको छ ।

विज्ञप्ति निकाल्ने जिल्ला सभापतिहरुमा भोजपुर सभापति बिनोद बान्तवा, मोरङका डिकबहादुर लिम्बु, सुनसरी केदार भण्डारी, देउ कुमार थेवे झापा, दिपक खडका संखुवासभा, हिमाल कार्की उदयपुर, बिष्णु कुमार राई खोटाङ, तेजेन्द्र खनाल ओखलढुंगा, नामगेल जाङबु शेर्पा सोलुखुम्वु, दिनेश राई धनकुटा, रुपनारायण जवेगु पाँचथर, डम्मर खडका इलाम, अर्जुन तुम्वाहाम्फे तेह्रथुम र ताप्लेजुङका गजेन्द्र तुम्याहाङ रहेका छन् ।

प्रदेशसभाले कोशी नाम राखेपछि जनताको ठुलो तप्काले अहिले बिरोध गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैबीच जनता समाजवादी पार्टी कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।

सुनसरीको इटहरीमा बुधबार बसेको जसपा प्रदेश समिति बैठकले कोशी प्रदेशबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

प्रदेशको कोशी नामांकनको विषयलाई लिएर आन्दोलन भइरहेका बेला जसपा सरकारबाट बाहिरिएको हो । कोशी प्रदेश सरकारमा जसपाबाट निर्मला सुब्बा स्वास्थ्यमन्त्री हुनुहुन्छ । उनलाई सरकारबाट फिर्ता बोलाउने निर्णय बैठकले गरेको हो ।


Published :जेष्ठ १६, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media