पार्टीलाई उठ्नै नदिने गरी देउवाले सरकारलाई दिएका सहमतिहरु सह्य हुँदैनः महामन्त्री थापा

राष्ट्रपाटी न्युज

१९ जेष्ठ २०८०

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाबिरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।

महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभुत मान्यता विपरित रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिबिरुद्ध संघर्ष गर्ने बताएका हुन् ।

प्रेस युनियन नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमतिहरु आफूलाई सैह्य नहुने बताए ।

उनले अब पार्टी सभापति देउवाले गर्दै आएका यस्ता गलत निर्णयको संघर्ष गरेर पनि रोक्नुपर्ने भन्दै साथ दिन पार्टीका नेता, कार्यकर्तालाई आह्वान समेत गरे । महामन्त्री थापाले पार्टी सभापति देउवाका एकल निर्णयहरु आफूले विगतमा मान्दै आएर गल्ती गरेको उल्लेख गर्दै अव त्यस्तो गल्ती गर्ने पक्षमा आफू नरहेको पनि पटकपटक दोहो-याए । काँग्रेस बदल्नुपर्ने भएकाले आफूले आफैँलाई बदल्न चाहेको उनको भनाई थियो ।

महामन्त्री थापाले पार्टीलाई ‘दाई’हरुको पार्टीको रुपमा नभई तल्लो तहका कार्यकर्ताहरुको पार्टीमा रुपान्तरण गर्न आफूले देशव्यापी अभियान चलाउने घोषणा समेत गरे ।


Published :१९ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media