काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले पुँजीबजारका ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व र जिम्मेवारी भएको बताए । उक्त जिम्मेवारीलाई उच्च महत्वका साथ धितोपत्र बोर्डले काम गर्ने र यसलाई अझ उचाइमा पुर्याउनेमा उनले विश्वास व्यक्त गरे । सूचना प्रविधिको भरपूर उपयोग गर्न अर्थमन्त्री डा. महतले सुझाव दिए । उनले धितोपत्र बोर्ड छिट्टै आफ्नै भवनमा सर्नका लागि अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने बताए।
धितोपत्र बोर्डले नियमनको काम प्रभावकारीरुपमा गर्नुपर्ने भन्दै उनले सेयर बजारलाई अझैं स्वच्छ,विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग हुने बताए । सेयर बजारलाई स्वस्थ्य बनाउन नेपाल राष्ट्र बैंकले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ ।
सेयर बजारबाट निश्चित व्यक्तिले फाइदा लिने माध्यम बोर्ड बन्न नहुने भन्दै उनले पुँजीबजारमा केही फाइदा हुन्छ भन्ने आशामा गाँस काटेर लगानी गर्नेहरूको सुरक्षा गर्नु बोर्डको ठूलो जिम्मेवारी भएको बताए ।