टुक्रिएका कम्युनिष्ट पार्टीहरुलाई एकताको दिशामा अगाडि बढ्न प्रचण्डको आह्वान

राष्ट्रपाटी न्युज

असार १६, २०८०

भक्तपुर ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादको नयाँ यात्रा तय गर्न सबैसँग आग्रह गरेका छन् ।

यसका लागि टुक्रिएर रहेका सम्पूर्ण कम्युनिष्ट पार्टीहरुलाई एकताको दिशामा अगाडि बढ्न उनले आह्वान गरे ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता रामविलाश जोशीको स्मृतिमा भक्तपुरको मध्यपुर थिमिमा भएको रामविलाश जोशी स्मृति प्रतिष्ठान भवन उद्घाटन तथा प्रतिमा अनावरण कार्यक्रमको आइतबार भक्तपुरमा उद्घाटन गर्दै प्रचण्डले समाजवादको नयाँ यात्रा तय गर्न कम्युनिष्ट पार्टीहरुको एकता आवश्यक भएको बताए ।

त्यही अनुसार पछिल्लो समय आफू नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, विप्लव र उपेन्द्र यादव नेतृत्वको कम्युनिष्ट पार्टीहरुबीच सहकार्यको दिशामा लागिरहेको उनले बताए । केपी ओली नेतृत्वको नेकपा एमालेसँगको एकता बचाउन नसक्नु दुःखद् भएको उनको भनाइ थियो । तथापि भएको कमजोरीबाट सिकेर नयाँ चिराबाट एकताको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भइसकेको र अव जनताको जीवनमा क्रान्ति बाँकी रहेको बताए ।


Published :असार १६, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media