काठमाडौं । सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताबीच संसदीय समितिको सभापति चयन गर्ने सहमति भएको छ ।
सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार बिहान भएको छलफलमा चाँडै संसदीय समितिका सभापति चयन गर्ने सहमति भएको हो ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकपश्चात सभामुख घिमिरेले जतिसक्दो चाँडो टुंगो लगाउने सहमति भएको जानकारी दिए । उनले संसदीय गतिविधि प्रभावकारी रुपमा अगाडि बढाउने बारेमा पनि छलफल भएको बताए ।
संसदीय समितिका सभापति चयनमा देखिएको गाँठो फुकाउन सभामुख घिमिरेले पहल थालेका हुन्। वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।