प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

राष्ट्रपाटी न्युज

असार १९, २०८०

काठमाडौं । राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेका छन् । प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर एमाले सांसदहरूले बैठक सुरू हुनेवित्तिकै राजीनामा माग गरेका हुन् ।

आजको बैठकमा  विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची थियो। एमाले सांसद देवेन्द्र दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच पुर्‍याएको भन्दै प्रधानमन्त्रीले जवाफ नदिँदासम्म बैठक सञ्चालन हुन नदिने बताए ।

उनले भारतको इसारामा चल्ने प्रधानमन्त्री स्वीकार्य नहुने बताए ।

एमालेले अवरोध कायम राखेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक ३ बजेर १ मिनेटसम्मका लागि  स्थगित गरेको घोषणा गरे । प्रधानमन्त्री दाहालले सोमबार आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए ।


Published :असार १९, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media