
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेकी सांसद पद्माकुमारी आर्यालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेट कार्यान्वयनयोग्य नरहेको टिप्पणी गरेकी छन् ।
सिंहदरबारमा सञ्चारकर्मीसँग प्रारम्भिक प्रतिक्रिया दिँदै सांसदसमेत रहनुभएकी आर्यालले बजेटमा घोषणा गरिएका कार्यक्रमका लागि पर्याप्त स्रोत विनियोजन नभएको तथा कार्यान्वयनको स्पष्ट आधार प्रस्तुत गर्न नसकिएको बताइन् ।
उनले नवीनताको नाममा सरकारले अन्योलता सिर्जना गरेको आरोप लगाउँदै पुराना कार्यक्रमलाई नयाँ नाम दिएर पुनः प्रस्तुत गरिएको टिप्पणी गरिन् ।
आर्यालले भनिन्, “सरकारले अघिल्ला सरकारले ल्याएका कार्यक्रमको नाम परिवर्तन गरेर ल्याएको छ, तर ती कार्यक्रमका लागि पर्याप्त बजेट छुट्याइएको छैन । कुनै स्पष्ट कार्ययोजना पनि देखिँदैन । निरन्तरताभन्दा अन्योलता बढी देखिएको छ ।”
अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए ।