वितरणमुखी र महत्वाकांक्षी बजेटले प्रतिव्यक्ति ऋणको भार बढ्ने चिन्ताः कांग्रेस सचेतक राई

राष्ट्रपाटी न्युज

जेष्ठ १५, २०८३

काठमाडाैं । नेपाली काँग्रेसका सचेतक निश्कल राईले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्वाकांक्षी र कार्यान्वयनमा चुनौतीपूर्ण रहेको टिप्पणी गरेका छन् । संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचेतक राईले बजेटको आकार र ऋणको भारप्रति गम्भीर चासो व्यक्त गरेका हुन् ।

बजेटका केही प्राविधिक पक्षहरूलाई सकारात्मक रूपमा लिँदै राईले कर प्रणालीमा गरिएको परिवर्तनले स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने नीति लिएको बताए । यस्तै, निकायहरूको खारेजी र खर्च कटौतीको प्रयास उचित भएपनि यसले सेवा प्रवाह (सर्भिस डेलिभरी) मा पार्नसक्ने प्रभावप्रति सचेत रहनुपर्ने उनको तर्क छ । सचेतक राईले राष्ट्रिय योजना आयोगले १८.९७ खर्बको बजेट सीमा (सिलिङ) तोकेकोमा सरकारले त्यसलाई उल्लंघन गर्दै २१.२४ खर्बको बजेट ल्याएकोमा आलोचना गरे । तोकिएको सीमाभन्दा १२ प्रतिशत बढीको यो बजेटले मुलुकलाई थप ऋणको भुमरीमा फसाउने उनले दाबी गरे । प्रश्तावित बजेटमा १४.०५ खर्ब राजस्व संकलन र २.४७ खर्ब वैदेशिक ऋणको लक्ष्य राखिएको छ, जुन हालसम्मकै उच्च वैदेशिक ऋण हो। उनका अनुसार आन्तरिक र बाह्य ऋण गरी मुलुकको कुल ऋणभार २९.३३ खर्ब पुग्ने देखिएको छ । यसबाट प्रत्येक नेपालीको टाउकोमा ऋणको भार करिव १ लाख २० हजार रुपैयाँभन्दा बढी पुग्ने उनले उल्लेख गरे ।

सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखे पनि त्यसका लागि आवश्यक पुँजीगत खर्च र ऋणको अनुपात नमिलेको राईको विश्लेषण छ । वर्तमान सरकार दुई तिहाइ नजिकको बहुमतमा रहेकाले यो बजेट एक ठूलो अवसर भएपनि सरकार आर्थिक र राजनीतिक दुवै रूपमा चुकेको उनको आरोप छ । खर्च गर्ने क्षमता कमजोर रहेको अवस्थामा बजेटको आकार मात्र बढाउँदा त्यसले प्रतिफल दिन नसक्ने र कालान्तरमा नागरिकमा निराशा मात्र थप्ने उनले चेतावनी दिए ।


Published :जेष्ठ १५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media