प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने गठबन्धनको निर्णय

काठमाडौं । नेकपा एमालेलगायतका विपक्षी दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेपछि आज विहान बसेको सत्तारुढ गठबन्धनको वैठकले राजीनामा दिनु नपर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटार बसेको गठबन्धनको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम संसदीय मर्यादाबाहिरको कुरा भएको निष्कर्ष निकालेको नेताहरुले बताएका छन् ।
बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका सहभागी थिए ।
सोमवार आयोजित सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालको सरकार निर्माण गर्दा भारतको भूमिका हुने र आफूलाई प्रितम सिंहले भारतलाई कन्मिन्स गराएर प्रधानमन्त्री बनाएको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवस्तव समेत उपस्थित कार्यक्रममा दाहालले भनेका थिए, ‘उहाँ (सरदार प्रितम सिंह) राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचाटी दिल्ली पनि जानुभयो । काठमाडौंमा पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो ।’
उनको यो अभिव्यक्तिले नेपालको सार्वभौसत्ता र स्वाभिमानमा आँच पुगेको भन्दै नेकपा एमाले, राप्रपा र रास्वपाले संसदमा चर्को विरोध जनाएका छन् । एमालेले दााहलको राजीनामा नै मागेको छ । उनको सो अभिव्यक्तिले प्रधानमन्त्री पदमा बस्ने नैतिकता समाप्त भएको बताएको छ । उनले राजीनामा नदिएसम्म संसद चल्ने नदिने एमालेको चेतावनी छ ।
सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्मा र अर्का सांसद उदय शमशेर राणाले पनि प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको र उनले संसदलाई जवाफ दिनुपर्ने माग गरेका छन् ।


Published :२१ असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media