कोसीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

राष्ट्रपाटी न्युज

असार २०, २०८०

विराटनगर । कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई नियुक्त गरिएको छ । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।

गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)समेतको समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन् ।

उनलाई कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्य (सांसद)को समर्थन छ। प्रदेशसभामा नेकपा (एमाले)का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसद छन्।

संसदबाट विश्वास गुमाएपछि एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार असार १५ गते ढलेको थियो । प्रदेश प्रमुखले आज साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका थिए। गठबन्धनले समयसीमाभित्रै प्रदेश प्रमुखको कार्यालयमा पुगेर थापालाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेको थियो ।

सरकार गठनमा सभामुखको प्रयोग संविधानविपरीत हुने भन्दै विरोध भइरहेको थियो । विरोधका वावजुत प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउनका लागि ४७ मत आवश्यक पर्ने थियो । मुख्यमन्त्री नियुक्तिलाई लिएर सभामुख विवादित बनेका छन् । दाबी पत्रमा उनी आफैले हस्ताक्षर गरेका छन् ।


Published :असार २०, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media