२०८४ मा विशाल पार्टी बनेर भ्रष्टाचारीलाई ठेगान लगाएरै छाड्छौँ : सभापति लामिछाने

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा संसदमा रहेका पार्टीहरुको पछि लागेको भनेर भाष्य स्थापित गर्न खोजिएको बताएका छन् ।

उनले यसमा कुनै सत्यता नरहेको जनाउँदै रास्वपा कुनै पार्टीको पछि नलाग्ने स्पष्ट पारे ।

उनले विगतमा रास्वपा सरकारमा जाँदा पनि जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गएको स्मरण गर्दै सधै आमनागरिकलाई माथि राखेर पार्टी अघि बढ्ने बताए ।

सभापति लामिछानेले अहिले पार्टीविरुद्ध षडयन्त्र भइरहेको समेत बताए । उनले मिटरब्याजसम्बन्धी अध्यादेश र नागरिकता विधेयकमा समेत संसदमा बोल्न नदिएको जनाउँदै यसलाई पार्टीविरुद्धको षडयन्त्र भएको बताए । तर, रास्वपा आफ्नै बलबुता र जनताको साथले छोटो समयमा यहाँ आएको पार्टी भएकाले जस्तासुकै षडयन्त्र भए पनि चिरेर अघि बढ्ने बताए । ‘गएको निर्वाचनमा भएभरका दलहरु एक हुँदा पनि हामी सबैको अपार मायाले यो स्थानमा आएका हौं’, उनले भने, ‘२०८४ मा अझै बिशाल पार्टी बन्ने छौं, जनताको मुहारमा उज्यालो छर्नेगरी काम गर्ने छौं ।’

राम्रा, योग्य, अनुशासित नेताकार्यकर्ता जुनसुकै पार्टीबाट पनि रास्वपा आउन सक्ने र त्यस्तालाई पार्टीमा पनि उचित स्थान दिएर भित्र्याउने उनले बताए । उनले पार्टीले भातृ संगठन नबनाउने र समितिमार्फत् सबैलाई गोलबद्ध गर्ने जनाउँदै अन्य पार्टीलाई पनि भातृसंस्था खारेज गरेर देखाउन चुनौति दिए । सभापति लामिछानेले अहिले सरकारले नक्कली भुटानी शरणार्थी लगायतका विषयमा केही काम गरेको तर त्यो पर्याप्त नभएको जनाए । उनले भ्रष्टाचारसम्बन्धी अहिले अनुसन्धान भएका र टुंगोमा नपुगेका वा कसैलाई उन्मुक्ति दिएका फाइल २०८४ मा रास्वपा विशाल पार्टी भएपछि फाइल खोल्ने र भ्रष्टाचारीलाई ठेगान लगाएरै छाड्ने दावी गरे ।


Published :२३ असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media