मुख्यमन्त्री उद्धव थापाविरुद्ध रिटको सुनुवाई न्यायाधीश माथेमाको इजलासमा

राष्ट्रपाटी न्युज

असार २४, २०८०

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई न्यायाधीश सुष्मालता माथेमाको इजलासमा हुने भएको छ ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट निवेदन दर्ता गराएका थिए। उक्त रिटमाथि सुनुवाइका लागि आइतबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ, सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन्। संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा सभामुखलाई समेत समावेश गर्नु संविधान विपरीतको कार्य भएको रिट निवेदकको दाबी छ ।

संविधानको धारा १६८ को उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ ।

थापा चार दलको समर्थनमा बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले सभामुख बाबुराम गौतमको अलग्गै हस्ताक्षर गराएर प्रदेश प्रमुखसमक्ष बहुमत पुगेको दाबी पेस गरेका थिए ।


Published :असार २४, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media