कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’ मा

राष्ट्रपाटी न्युज

असार २५, २०८०

विराटनगर । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट आज पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । रिटको पेशी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा तोकिएको थियो ।

आइतबार प्रारम्भिक सु्नुवाइका लागि पेशी तोकिए पनि पछि ‘हेर्न नभ्याइने’ सूचीमा राखेको थियो। आइतबार रिटको पेशी न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको थियो।

कोशीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा (एमाले) ले गत शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएको थियो । एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले रिट दिएका हुन् । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।

सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि त्यसविरुद्ध एमालेले सर्वोच्चमा रिट दिएको हो । रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङग, मुख्यमन्त्री थापा,सभामुख गौतमलाई  प्रतिवादी बनाइएको छ ।


Published :असार २५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media