एसीसी इमर्जिङ कपमा नेपाल पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित

काठमाडौं । नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले पराजित भएको छ । श्रीलंकामा भएको एसीसी इमर्जिङ कपको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान ‘ए’सँग पराजित भएको हो।

टस जितेर ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रनमात्र बनाउन सक्यो। नेपालका लागि बलर सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए। १०१ बल खेलेका उनले ९ चौका र दुई छक्का प्रहार गरेका थिए ।

त्यस्तै प्रतिश जिसीले २६, कुशल मल्लले १७, अर्जुन साउदले १७, गुल्सन झाले १३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन जोड्न सकेनन्। भीम सार्की शून्यमै पेभेलियन फर्किँदा कुशल भुर्तेल र पवन सर्राफले १-१, रोहित पौडेलले ४ रन बनाए।

पाकिस्तान ‘ए’ले नेपालले दिएको १८० रनको लक्ष्य ३२.५ ओभरमा ६ विकेट क्षतिमा पूरा गर्‍यो। पाकिस्तानका लागि तायब ताहिरले अर्धशतक प्रहार गरेका थिए । नेपालका लागि ललित राजबंशीले ३ विकेट, पन सर्राफले २ विकेट र कुशल मल्लले १ विकेट लिएका थिए ।


Published :२९ असार २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media