काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशसभामा सत्ता पक्षबाट संविधान विरोधी क्रियाकलाप भएको बताएको छ । कोशी प्रदेश सरकार गठनका विषयमा असंवैधानिक भएको भन्दै एमाले उक्त सरकार तत्काल भंग गर्न माग समेत गरेको छ ।
शनिबार बसेको केन्द्रीय सचिवालय बैठक पछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘कोशी प्रदेशसभामा सत्ता पक्षबाट गरिएको संविधान विरोधी क्रियाकलाप यस शृङ्खलाको पछिल्लो कडीका रुपमा रहेको छ ।’
साथै एमालेले कोशीमा नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया सुरु गर्न समेत आग्रह गरेको छ । कोशी प्रदेशमा सभामुखको समेत हस्ताक्षर गराई नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बनेका थिए । सोही हस्ताक्षरसमेत गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
एमालेको केन्द्रीय सचिवालय बैठकले पनि सरकार गठनमा सभामुखको संलग्नता लोकतान्त्रिक र संसदीय अभ्यासमाथिकै प्रहार भएको एमालेले ठहर गरेको ज्ञवालीले बताए ।
उनले भने, ‘सरकार गठन गर्ने वा हटाउने सम्बन्धमा सभामुख स्वयं संलग्न हुने कुरा त नेपालको संविधान, नियन्त्रण र सन्तुलनको विश्वव्यापी मान्यता, एवं हाम्रो आफ्नो लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नाङ्गो प्रहार हो ।’